३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025

आहा मनोरम माण्डवी क्षेत्र ! “पर्यटनको नयाँ गन्तव्य”


२९ असार २०८१, शनिबार  


माण्डवी र सुवर्णावती नदीको संगम स्थल,धार्मिक पवित्र भूमि स्वर्गद्धारीको काखमै पश्चिमबाट पूर्वतर्फ फैलिएको मनोरम उर्वर फाँट । रोल्पा र प्यूठानलाई अंगालोमै बेरेर पूर्वतिर बगिरहेका ऐरावतीमा धर्मावती (झिम्रुक नदीलाई भेट्न कुदिरहेका छन् माण्डवी(माडी) र सुवर्णावती(लुंग्री)नदी। यीनै धार्मिक नदीको संगमस्थल हो, खुंग्री चर्तुभूज। रोल्पा र प्यूठानको सिमानामा पर्ने यस खुंग्री चतुर्भुज ध्यान र शक्तिपीठको रुपले अत्यन्तै महत्वको स्थल हो ।

त्रिपुराश्वरी देवी मन्दिर देशकै शक्ति पीठ हो, जहाँ आदि अनादीकालदेखि पूजा पाठ र आरधना हुँदै आएको पाइन्छ। स्वस्थानी व्रतकथामा वर्णित पौराणिक कथा अनुसार यस स्थलमा सती देवीको अंग पतन भएको थियो। दक्षप्रजापतिको यज्ञकुण्डमा हाम फालेर देह त्याग गरेकी सतीदेवीलाई काँधमा बोकेर महादेवले विश्व भ्रमण गरेका थिए। उनै सतीदेवीको यस स्थलमा पीठ्यू पतन भएको धार्मिक विश्वास छ। श्रृतीगन्थमा उल्लेख भए अनुसार चर्तुभूजमा मेघले तपस्या गरेका थिए भने, ब्रम्हले व्रतबन्ध गरेको पवित्र भूमि शिवपान्चायनको महत्वले पनि उत्तिकै रोचक छ। जहाँ पवित्र नदी किनारमा असरल्लै फैलिएको माडी फाँट साँच्च्किै लोभलाग्दो देखिन्छ । नदी किनारका यी मनोरम बस्ती आफैमा उज्याला छन्। भौगलिक सुगमता र प्राकृतिक सुन्दरताले सिंगारिएको छ,माडी क्षेत्र पर्यटनको नयाँ गन्तव्य हो ।

तपस्वी प्रभु महाराजले माण्डवी नदीमा स्नान गरेर स्वर्गद्धारीमा ध्यान गर्न पुग्दथे। उनैले वेदको मन्त्र उचारणबाट अग्नि निकाले थिए, जुन अग्निी डेढ सय वर्षदेखि अविछिन्नरुपले बलिरहेको छ। यही प्रसिद्ध तीर्थस्थल स्वर्गद्धारीको आधारभूमि माडी क्षेत्रमा रहेको त्रिुपुराश्वरदवी मन्दिर धार्मिक उद्यान पनि हो । जहाँ आदिकालदेखि यहाँको कुनैपनि वनस्पतिको पात समेत टिप्न रोकावट छ।

सुर्वणावती र माण्डवी नदीको संगम स्थल यस क्षेत्र आफैमा प्राकृतिक,ऐतिहासिक, सांस्कृतिक,पुरातात्विक, पौराणिक र धार्मिक भूमि हो। पर्यटनका विभिन्न आयामहरुले ज्यादै सुन्दररुपले सजिएको भएपनि यस क्षेत्रको पर्यटन विकासमा खासै ध्यान पुगेको देखिन्न । बाइसे चौबिसे राज्यको पालामा रहेका भूरे टाकुरे राजाहरुले राज्य गरेको स्थल पनि हो, यस क्षेत्र। माण्डवी नदीको दक्षिण भेगको उदयपुरकोट एक राज्य थियो। जहाँ अधिकारी राजा थिए। जबकी नेपालको इतिहासमा ब्राम्हणहरु राजा भएर राज्य चलाएको यही उदयपुर कोट मात्रै एक हो । तर, भिंग्रीकोट खुंग्रकोट गजुलकोटहरुमा ठकूरीहरुले नै राज्य गरेको इतिहास छ।


यसरी माडी क्षेत्र पर्यटनका विविध आयामले सुन्दर भएपनि आधारभूत पूर्वाधारको विकाससंगै प्रवद्धनात्मक काम खासै हुन सकेका छैनन्। जसले गर्दा यस पवित्र भूमि राष्ट्रिय पर्यटन बजारको मुल प्रवाहमा आउन सकेको छैन। माडी क्षेत्रका हरिगाउँ, खुंग्री, किमीचौर, जलुके, सारी बेल्बास, गोठीबाङ, भिङ्ग्री,चकेचक,लगायतका बस्तीहरु अत्यन्तै सुन्दर र मनोरम मात्रै छैन, यहाँको सामाजिक चेतनास्तर पनि उन्नत छ, धर्म संस्कृतिको संरक्षण सम्वद्र्धनसंगै यहाँका स्थानीयको आर्थिक तथा सामाजिक जीवन उकास्नका लागि यस क्षेत्रको पर्यटनको अब्बल गन्तव्य हुन सक्छ। यद्यपि कसैको ध्यान नपुग्दा माडी क्षेत्र ओझेलमै छ। करिब ७० हजार मनिसको बसोबास रहेको माडी क्षेत्र कृषि, पर्यटन र जलविद्युत उत्पादनको हिसाबले निकै सम्भावना भएको भूमि हो । जलाशययुक्त आयोजनालाई अघि बढाएर, विद्युत, पर्यटन, सिचाइ र माछा पालनसम्मको सम्भावना छ। यहाँको पर्यटन विकास मात्रै गर्न सक्यो भने प्रत्यक्ष दश हजारलाई रोजगारी सम्भव छ। अप्रत्यक्षरुपमा लाखौले आर्थिक लाभ लिन सक्छन्।

समुद्री सतहबाट करिब ७०१ मीटर(ओबाङ)को उचाइमा रहेको यस भूमि दुइ नदीको संगमस्थलमा बनेको बेसी खोँचमा अवस्थित छ। पूर्व पश्चिम राजमार्गको भालुबाड खण्डदेखि ७४ किलोमिटरको हाराहारीको दूरीमा अवस्थित छ। करिब ३ घण्टाको सडक दुरीमा सहजै पुग्न सकिने यस पूण्य भूमिमा। समुद्री सतहदेखि करिब ७७५ मिटरको उचाइमा अवस्थित छ। खुंग्री मिलन विन्दु हुने माण्डवी र सुर्वणावतीको उद्गम स्थल जलजला पहाड हो । यही जलजला पहाडको पूर्वतिरबाट सुवर्णावती र पश्चिमतिरबाट माण्डवी नदीको उत्पत्ती हुन्छन्। यीनै दुबै गंगा खुंग्रीको चर्तुभुजमा आएर मिल्छन्, र प्यूठानको ऐरावतीमा पुगेपछि धर्मावतीसंग मिसिएर राप्ती अर्थात अरिचावती शुरु हुन्छ।

प्रकाशित मिति : २९ असार २०८१, शनिबार  ९ : ४४ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित