जब पारिस्थिक प्रणालीमा खलल आउँछ, तब प्राकृतिक विपत्तिहरु दोहोरिने गर्दछन्। ढीलो गरी मनसुन शुरु भएपनि बाढी पहिरो डुबानमा छ, मुलुक यतिबेला । पहिरोका कारण देशभरका ३६ बढी सडक अवरुद्ध भएका छन्। भने बाढीले हजारौ घर डुबानमा परेका छन्। बाढी र पहिरोमा परेर धेरै मानवीय क्षति भएको छ। मनसुन सक्रिय भर्खरै भएको छ, मौसमविद्का अनुसार यस वर्षको वर्षात आउँदो असोजसम्म सक्रिय रहनेछ।

गएका वर्षहरुमा भन्दा यस वर्ष अत्यधिक वर्षात हुने मौसमविद्हरुले आंकलन गरेका छन्। मनसुन सक्रिय भएको पहिलो चरणमै जे जति मानवीय तथा भौतिक क्षति भएको छ, त्यसको तेब्बर नोक्शानी हुने देखिन्छ, आउँदा दिनहरुमा। अतिवृष्टि र अनावृष्टिकै कारण प्राकृतिक विपत्तिसंगै प्रकोपहरु आउने गर्दछन्।

अतिवृष्टिका कारण उपत्यकासहित देशभर डुबान, बगान र पहिरोको वितण्डा भयानक छ। खराब मौसमका कारण उद्दार र राहतमा पनि उत्तिकै मुश्किल छ। त्यसैमा पनि हाम्रो राज्य संयन्त्रको उद्दार कार्य नाम मात्रैको छ। यस्तो अवस्थामा व्यक्तिले नै आफू र आफन्तको सुरक्षाका लागि सावधानी अपनाउन जरुरी छ। सरकारले आउला र उद्दार गरिदेला भन्नु त्यो कल्पना मात्रै हो । हुन त यस्तो प्राकृतिक विपत्ति पहिलो पटक भएको भने होइन। हरेक वर्ष यस्ता विपतका घटनाहरु दोहोरिन्छन्, आम सर्वसाधारणले झेल्दै आएका छन्।

पानी पर्नु प्राकृतिक नियम हो, त्यो मानिसले चाहेर रोकिने र फरबदल गर्न सकिने विषय पनि होइन।तर, हाम्रै हेलचेक्र्याइ र स्वार्थकै कारण प्राकृतिक दोहन उत्तिकै छ। नदी तथा खोलामाथि हुने ज्यातीकै परिणाम हरेक वर्ष अकल्पनीय विपत्ति दोहोरिने गरेका छन्। हिउँदभरी नदी खोला दोहनदेखि जथाभावी सडक विस्तारकै कारण बाढी पहिरोबाट प्रताडित हुनुुपरेको हो हामी। प्रकृतिमा आउने यस्ता भयानक विपत्तिहरुको मुल कारण मानवीय क्रियाकलाप हो। मान्छेले प्रकृतिमाथि गरेको अत्यधिक शोषण र ज्यादतीको परिणाम अतिवृष्टि र अनावृष्टि हुने गरेको छ।

जलवायुमा अस्वभाविक परिवर्तन आएको छ। जलवायुमा आएको यही अस्वभाविक परिवर्तले मनुसुनको नियमित प्रक्रिया समेत खलल भएको छ, यसरी ,मौसममा देखिने यस्ता प्रलयकारी गतिविधिमै परेर मानिस लगायतका प्राणीहरुको अस्तित्व संकटमा पर्दै गएको हो । हामीले गरेका विकासको परिणाम विनाश निम्तिने गरेको छ। नदी खोला अतिक्रमण गरेर जबरजस्ती बस्ती बसाउने र धनी बन्ने होड छ। आज बागमती किनारामा सुकुम्बासी भनेर बसेका मानिसहरुको चित्कार निकै छ। नदी किनारामा बस्ती नबसाउन भन्दै काठमाडौ महानगरले ताकेता गरेपनि राजनीतिक दलको संरक्षणमा नदी किनारा अतिक्रमण रोकिएको छैन। जानी जानी नदी खोला अतिक्रमण गर्ने अनि सरकारले राहत र उद्दार गरेन भन्दै आलोचना गर्नेहरु पनि छन्। शुक्रबारदेखि परेको अविरल वर्षाको कारण उपत्यकाका बागमती, विष्णुमति, धोविखोला, हनुमन्ते खोला लगायतमा भीषण बाढी आएको छ। नदी खोलामा आएको बाढीले किनाराका सबै संरचना बगाएको छ।

प्रकृतिमाथि गरिएको यो शोषण र दोहनकै कारण हामी राहत उद्दार र क्षतिपूर्तिमै राज्यको श्रोत साधन खर्चन बाध्य छौ, विकाससंगै विपद्लाई नजोडेर गरिएको अन्धधुन्द विकासले विपत्ति निम्त्याइरहेको छ। विश्वमा नेपाल प्राकृतिक प्रकोपको जोखिमको हिसाबले ११ औ स्थानमा पर्दछ। भूकम्पदेखि बाढी पहिरो र डुबानको उच्च जोखिममा भएपनि त्यसप्रतिको गाम्भीर्यताको अभावमा यस्तो नियती हर वर्ष भोग्न परेको हो । हिउँदभरी नदी खोला मास्ने अनि वर्खा लागेपछि विपत्तिले चित्कार गर्नु भन्दा सुरक्षित ठाउमा घर तथा आवासको जोहो गर्नतिर लाग्नु उपयुक्त हुन्छ। त्यसैमा पनि सरकार दीगो बस्ती विकासको योजना बनाउनतिर लाग्नुपर्छ। हरेक वर्ष आउने यस्ता विपत्तिबाट आफ्ना नागरिकलाई सुरक्षित राख्नेतिर ध्यान दिनुपर्छ, दलीय मतका लागि देखाउने उदारताले बर्खाभरी रुवाबासी र चित्कार दोहोरिनेछ, राज्यको बेलैमा आँखा खुलोस् र देशभर अविरल वर्षा भइरहेकोले उद्दार तथा राहतमा कतै कन्जुस्याँइ नगरोस्, राज्य भएको अनुभूति बाढी पहिरो पीडितहरुले गर्न सकून्।
