९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026

नाफामा नबिल, ग्लोबल आइएमई र एनआइएमबीबीच कडा टक्कर !


५ असार २०८२, बिहिबार  


१० महिनामा वाणिज्य बैंकहरुले झन्डै पौने ४८ अर्ब रुपैयाँ नाफा कमाएका छन् ।

नेपाल राष्ट्र बैंकबाट प्राप्त चालु आर्थिक वर्ष २०८१–८२ को साउनदेखि बैशाख मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।

यस अवधिमा बैंकहरुले ४७ अर्ब ७९ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । यद्यपि, यो गएको आर्थिक वर्षको यही अवधिको तुलनामा भने १.६७ प्रतिशत कमी हो ।

जबकि, गएको आर्थिक वर्षको बैशाख मसान्तसम्ममा बैंकहरुले ४८ अर्ब ६० करोड ६७ लाख रुपैयाँ नाफा कमाएका थिए ।

समीक्षा अवधिमा १० वटा बैंकको नाफा बढेको छ भने १० वटाको घटेको देखिन्छ । तथ्याङ्क अनुसार नबिल, ग्लोबल आइएमई र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक शीर्ष सूचीमा छन् । समीक्षा अवधिमा सर्वाधिक नाफा नबिलले कमाएको छ । नबिलले १० महिनामा ५ अर्ब ६० करोड ३९ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकको यो नाफा गएको आर्थिक वर्षको तुलनामा भने २.५९ प्रतिशत बढी हो ।
दोस्रो सूचीमा रहेको ग्लोबल आइएमई बैंकले ५ अर्ब ३५ करोड ५४ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकको नाफ वृद्धिदर भने २९.८९ प्रतिशत छ । आर्थिक वर्षको यही अवधिमा बैंकले ४ अर्ब १२ कराड २९ लाख रुपैयाँ नाफा कमाएको थियो ।

यता, एनआइएमबिले पनि ५ अर्ब २ करोड ८ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको तुलनामा भने ३३.१४ प्रतिशत धेरै हो । गएको आर्थिक वर्षको १० महिनामा बैंकले ३ अर्ब ७७ करोड १० लाख रुपैयाँ नाफा कमाएको थियो ।

समिक्षा अवधिमा एभरेष्ट बैंकको नाफा पनि ३०।९७ प्रतिशत बढेर ३ अर्ब ९० करोड ३३ लाख रुपैयाँ पुर्याएको छ ।

नाफा बढाउने मामलामा भने नेपाल बैंक पहिलो सूचीमा छ । समीक्षा अवधिमा बैंकको नाफा सर्वाधिक ४५७.१२ प्रतिशत वृद्धि भई ३ अर्ब २८ करोड ८७ लाख रुपैयाँ कायम भएको छ । वृद्धिदरमा एनआइएमबि दोस्रो, एभरेष्ट तेस्रो र ग्लोबल आइएमई चौंथो सूचीमा छ ।

यस्तै, माछापुच्छ्रे बैंकको नाफा पनि १८.७४ प्रतिशत बढेर १ अर्ब ३१ करोड ३५ लाख, लक्ष्मी सनराइजको १०.२० प्रतिशत, सानिमाको ७.१० प्रतिशत १ अर्ब ८७ करोड ५ लाख, एनएमबि ५.५६ प्रतिशत बढेर २ अर्ब ६२ करोड ५४ लाख र सिद्धार्थ बैंकको नाफा १.६९ प्रतिशत बढेर २ अर्ब १ करोड ११ लाख रुपैयाँ कायम भएको छ ।

तर, एनआइसी एशियासहित १० वटा बैंकको नाफा घटेको छ ।समीक्षा अवधिमा एनआइसी एशिया बैंकको नाफा ७७.८७ प्रतिशत घटेर ४७ करोड ८७ लाख रुपैयाँ कायम भएको छ । यता, हिमालयन बैंकको नाफा पनि ६९.३४ प्रतिशत घटेर ६८ करोड ३४ लाख रुपैयाँ कायम भएको छ ।

यस्तै, कुमारी बैंकको नाफा ६६.२८ प्रतिशत, कृषि विकास बैंकको ३५.७३ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ३०.९३ प्रतिशत, सिटिजनको २१.४० प्रतिशत र प्रभूको २०.९० प्रतिशत घटेको छ । समीक्षा अवधिमा यी बैंकहरुले क्रमशः ४८ करोड १९ लाख, १ अर्ब ७३ करोड ३८ लाख, १ अर्ब ७७ करोड ४ लाख, १ अर्ब १८ करोड १५ लाख र २ अर्ब १४ लाख रुपैयाँ नाफा कमाएका छन् ।

त्यसैगरि प्राइम बैंकको नाफा पनि १९.८५ प्रतिशत घटेर २ अर्ब ५८ करोड ५५ लाख, स्ट्याण्डर्ड चार्टर्डको ११.९८ प्रतिशत घटेर २ अर्ब ३४ करोड ६४ लाख, नेपाल एसबिआईको २.८७ प्रतिशतले घटेर १ अर्ब ३८ करोड २० लाख रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : ५ असार २०८२, बिहिबार  ३ : ४८ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित