१ जेष्ठ २०८२, बुधबार | Wed May 14 2025

मुर्छित् बागमती !


२६ जेष्ठ २०८१, शनिबार  


जब मिचाह मानिसहरु बागमती उपत्यका छिरे, तब बागमतीको कौमार्यता र सुन्दरता क्रमश लुटिन थाल्यो। शहरीकरणको हावा हुण्डरीमा भित्रिएका ती मानिसहरुले बागमतीको अस्तित्व लुटेरै भएपनि महल उभ्याए, अनि द्रव्यको खात लगाए। ती द्रव्यपतिहरु सुखी भएपनि बेचैन पक्कै छन्। बागमतीको पाँच दशकमा जे जसरी अस्त्वि र स्वतन्त्रताको बलात्कार गरियो, त्यो बेधर्म अहिलेपनि अविछिन्न छ। पारिस्थितिक प्रणालीको एक अभिन्न अंग नदीमाथि विध्वंशकारी क्रियाकलाप उस्तै छ।

बागमतीमाथि पाँच दशक बढी देखि भइरहेको यो ज्यादती रोकिने कहिले हो, त्यसको जवाफ कसले र कहिले दिने ? राजनीतिको उद्योग र व्यापार फस्टाइरहेको बेला प्राचीन नदी बागमतीको रक्षा कसले गर्ने ? यस्तै यस्तै अनुरत्तित प्रश्नको जंजालमा छ, बागमतीको अस्तित्वको सवाल पनि।बागद्वारबाट कलकलाउँदै प्रारम्भ हुने यीनै बागमती जब शहर छिर्छिन् तब उनीमाथि मिचाह मानिस प्रजातीले थुपारेको फोहोर सोहर्न बाध्य हुन्छिन् । बागमती नदीमाथि यस्तो अतिक्रमण, मिचाह र ज्यादती निरन्तर जारी छ।

बागमती नदीको अस्तित्व भएकै कारण बागमती सभ्यताको विकास भयो र अहिले दुनियाँका लागि बागमती उपत्यका अर्थात काठमाडौ उपत्यका रोजाइको गन्तव्य बनेको हो। अधिकांश सम्भयताहरु पनि नदी किनरामै बनेका थिए र छन् पनि । “बागमती सभ्यता निकै पुरानो सभ्यता हो। ” तर, आधुनिकीकरणको तुवाँलाले संकटमा छ,भन्छन्, समाजशास्त्री आहुती।”बागमती सभ्यताको विकास गर्ने यहाँका नेवा समुदाय हुन्,हजारौ वर्षको अभ्यासबाट विकसित सभ्यता पनि हो, बागमती सभ्यता” समाजशास्त्री आहुती थप्छन् ।
बागमती फगत नदी मात्रै होइन, यो त एक पूर्ण –पर्यावरण हो। यस तथ्यको गहिरो र विस्तुत व्याख्या गर्नुको अर्थ यो हुन्छकी, हामीले हाम्रो सभ्यता, इतिहास, उत्पत्ति र विकासक्रम भुलिसक्यौ। हाम्रा पुर्खाहरुले पानीको स्वच्छतासंगै यसको दीगो संरक्षण नगरिदिएको भए, हाम्रो सम्भ्यतासंगै मानव इतिहासको उहिल्यै पूर्णविराम लागिसक्थ्यो होला। तर, पूर्खाहरुले भावी सन्ततीको लागि भन्दै धर्तीमा बग्ने बागमती जस्ता नदीहरुको संरक्षण गरिदिएर गए। तर, आधुनिक भनिएका हामीले पूर्खाले जोगाइदिएको नदीमाथि अत्याचार गरिरहेका छौ, महलभित्र द्रव्यको सिरानी हालेर समृद्धिको सपना देखिरहेका छौ ।

नदी मानिस लगायत जीव जन्तु र वनस्पतिको अपरिहार्य आधार हो,जीवन भण्डार हो। नदी आफैमा एउटा पूर्ण पारिस्थितिक प्रणाली हो। तर, आजै त्यही जीवन दिने नदीको प्राण हामीले लिने कोशीस गरिरहेका छौ। बागमतीको पवित्रता, प्राचीनता र स्वच्छतामाथि बलात्पूर्ण क्रियाकलाप गरिरहेका छौ, नदी दुषित बनाउने ढल मिसाएर आफूलाई आधुनिक मानिस भनेर देखाइरहेका छौ ।

बागमती गंगा आज लास जस्तै बनेर मुर्छित छिन्, मुछिैत बागमतीलाई व्युझाउने भन्दै सरकारी कोशीस पनि भए, तर, बागमती नदी बन्न सकेको देखिन्न। ढल निकास जस्तो बनेर अस्तित्व गुमाइरहेको छ।

सन् २०१८ताकातिरको समय हो। जतिबेला मरिस्साटेल भन्ने एक जना विदेशी लेखकले आफ्नो लेखमा भनेका थिईन्। ‘बागमती मरेको छ– र यस विषयमा हामी केही पनि गर्न सक्दैनौ’ भन्ने शिर्षकमा लेख प्रकाशित थियो । ‘सफा गर्नु’ र ‘पुनर्स्थापना गर्नु’ फरक कुरा हुन्, बागमती पुनस्र्थापना गर्न ढिला भैसकेको छ। उनको त्यो लेखको भाव सत्यतामा आधारित यथार्थ थियो र हो । जुन कुरा बागमतीको किनारमा पुगेर अध्ययन गर्दा पनि प्रष्टै हुन्छ। बागमतीमा अहिलेसम्म जे जति विसर्जित बोझ जुन छ,त्यो बोझ बागमतीको बहाव भन्दा कयौं गुणा भारी छ ।

जलाधार संरक्षण गर्न भन्दै नदी किनारमा करिडोरको माध्यमबाट सडकसंगै रंगरोगन र वृक्षारोपण पनि गरिएको छ। जुन सकारात्मक पनि हो । तर, बागमतीमा फोहोरको विसर्जन रोकिएको छैन। बागमती सफाइ अभियान चलेपनि त्यो चर्चामै चलेको छ, अभियानले एउटा चेतनाको जागरण त ल्याउँछ,तर, जस जसले नदीमा फोहोरको विसर्जन गर्दछन्, तबसम्म नदीमाथि ज्यादती रोकिदैन ।नदी अतिक्रमण र ज्यादती विरुद्ध काठमाडौ महानगरका प्रमुख बालेन्द्र साहले कोशीस पनि गरे।तर, नदीको अस्मिता लुटेर नदीकै बगरमा महल ठड्याउनेहरुले प्रतिरोध गरे। २०४६ यता सत्तामा पीड खेल्दै आएकाहरुको ढाडस पाएपछि नदी बगर अतिक्रमण गरेर दरबार बनाउनेहरु हौसिए । यस्तो गलत प्रथाको विकास हुनुमा मुलतः देशको नेतृत्व गर्नेहरुको नियतमै खोट छ, भन्छन् वातावरण विद् विनोद भट्ट। सुकुम्बासीको आवरणमा भोट बैक बनाउने गलत प्रथाले बागमती संकटमा परेको हो, भन्छन् उनी ।
हो, समस्याको चुरो र गहिरो कुरा बागमती दृश्यमा होइन । चुरो त बुझाई आम बुझाइ हो। जब सम्म हामी नदीलाई नालीका रुपमा बुझ्छौँ तबसम्म नदी नदी रहदैन । नदी नाली भएर के फरक पर्छ त ? नदी नदी भएको भए काठमाडौँलाई किन मेलम्ची चाहिन्थ्यो ? बहस अर्का कुरा पनि हुन सक्छ, के मेलम्ची पनि काठमाडौँका बागमती धोबी खोला टुकुचा र विष्णुमती जस्तै हुन्थ्यो त ? बागमतीले आज जे नियती भोगको छ नि त्यही नियती मेलम्ची पनिले भोग्थ्यो होला। किनकी शहरले नदीलाई नाली बुझेको छ, त्यस्तै व्यवहार गरेको छ।

कंक्रिटको घनघोर जंगलले छपक्क् छोपिएको काठमाडौले बागमतीलाई नाली बनाएर मेलम्चीको पानीले प्यास मेटाउने कोशीस गरेको छ। तैपनि मेलम्ची आफै पनि बदनाम छ, जहाँ ५५ अर्ब बढीको द्रव्य बीटो खन्याइएपनि पानीको खासै टुंगोछैन, मेलम्चीका नाम लिएर भित्र छिरेकाहरुले अथाह द्रव्य कमाएर भ्रष्ट बनेर युरोप अमेरिका पुगे., उता नपुगेकाले यही काठमाडौमै बसेर उनै बागमतीमाथि फोहोर डंगुर विर्सजन गरिरहेका छन् ।सरकारले बागमतीलाई पुरानै लयमा फर्काउन भन्दै ठूला ठूला दस्तावेज बनायो, भुसतीघ्रे कार्यकर्ता भर्ती गर्यो। एशियाली विकास बैक पनि पैसा हाल्न तयार भयो। विदेशी दाताको पैसा र घरेलु राजनीतिले तय गरेको नीति र योजनाले पनि बागमतीको अस्तित्व फकिएन अझै ।

बागमती सफाइका नाममा २९ वर्षमा २९ अर्ब खर्चिएको देखिन्छ। जहाँ नदी किनारमा रेलिङ, सीढी र वृक्षारोपन बाहेक खासै प्रगति देखिन्न। बागमतीमा विसर्जित फोहोर बग्नेक्रम उही छ पैसा र पसिना बगाएपनि बागमतीमै फोहोरको डंगुर उस्तै बगिरहनुले राज्य र आम जनता जिम्मेवार छन्, नदीको प्राकृति अधिकार हनन् गरेर मानिस नामको प्रजाती सुखि भएको छ, तर, बागमतीको अस्तित्व नामेट हुदै गएको छ, बागमती मुर्छित भएर शहरको बीच भागमै फोहोरको डंगुर बोकेर बग्न बाध्य छिन्।

प्रकाशित मिति : २६ जेष्ठ २०८१, शनिबार  २ : ४९ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित