२९ पुस २०८२, मंगलबार | Tue Jan 13 2026

देश हाँक्न, ‘हस्तक्षेप बढाउ गगन’


१५ मंसिर २०८२, आइतबार  


विशिष्ट घडीमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको सरकार छ । निर्वाचनपछि यो सरकार बाहिरिनेछ । फागुन २१ को प्रतिनिधि सभाको निर्वाचनले नयाँ जनादेश दिनेछ । यद्यपि निर्वाचनपछि आउने नतिजाले विगतका गलत अनुहारहरु फेरि बोकेर ल्याउनु हुदैन । त्यसका लागि लाखौ मतदाता सबैभन्दा बढी सचेत हुन जरुरी छ। जनताले स्पष्ट भिजन र मिसन भएको राजनीतिक चरित्रको दूरदर्शी नेतालाई आफ्नो सार्वभौम मतद्वारा छनौट गर्नुपर्नेछ । विगतमा हामीले गलत पात्रलाई छनौट गर्दा देशले धेरै दुःख पाएको कुरा अब कसैले पनि भुल्नुहुदैन ।

त्यसका लागि स्वच्छ छविको दूरदर्शी नेताको चयन हुनुपर्छ । जुन नेता निर्वाचनपछि मुलुकको कार्यकारी तहमा पुग्न र देशलाई हाँक्न सक्ने होस्। यतिबेला त्यस्तो नेता को होला त ? यक्ष प्रश्न यही हो । निर्वाचन प्रणाली शासकीय स्वरुपले दोष दिएर अस्थिरता बढ्यो भन्नु राजनीतिक अल्पज्ञान हो । राजनीतिमा सबै भन्दा बढी नैतिकता, त्याग र निष्ठा चाहिन्छ । राजनीतिलाई व्यवसाय बनाउँदा आज उन्नत लोकतन्त्रमा पनि भ्रष्टहरुबाट जनता शासित हुन परेको तितो यथार्थता हो । अब सुशासन र समृद्धिको मार्गमा हिडाउन सफल चालक को होला भन्ने आम बहस छ ।

त्यस बहसको सटिक जवाफ हो, कांग्रेस महामन्त्री गगन थापा । समकालीन राजनीतिमा तुलनात्मरुपले उनी काबिल नेता हुन् । व्यवस्था परिवर्तनदेखि लिएर अवस्था परिवर्तनमा लागेका गगन युग सुहाउँदो र आवस्यकताले खोजेको नेता भएकोमा विमित नहोला । सापेक्षमा उनी गतिशील र विचारशील नेता हुन् । उनीमा पनि कमजारी नभएको भने होइन । दाग त चन्द्रमा त भेटिन्छ भने उनी त नेपाली समाजको एक उपज पात्र हुन्। उनीमा पनि धेरै कमजोरी छन्। यद्यपि उनीमा कमजोरीको समीक्षा गर्ने र स्वीकार्ने कला छ । उनीमा पुरानालाई सम्मान गर्ने र नयाँलाई स्वीकार गर्ने शैली छ ।

जेनजी विद्रोहमा आफ्नै घर आगजनी हुँदा पनि नवयुवाहरुको भावनालाई सबै भन्दा पहिले आत्मसाथ गर्दै कमजोरीको समीक्षा उनैले गरेका थिए । यति मात्रै होइन, गगनसंग देश बनाउने स्पष्ट भिजन छ । प्रजातन्त्रप्रति उनको प्रतिवद्धता र जनसेवामा उनको समर्पण गगनप्रतिको विश्वासका सुत्र हुन् । नेता रहरले हुन सकिने विषय पनि होइन, यो निकै निर्मम हुन्छ, जो संघर्षको भट्टीबाट खारिएर उदाँउछ र राष्ट्र हाँक्छ । हो, यो योग्यता र क्षमता भएका पात्र उनै गगन हुन् । नेतामा उच्च नैतिकता, इमान्दारिता, पारदर्शीता,त्याग, निष्ठा र समर्पण चाहिन्छ ।

यी महत्वपूर्ण विशेषताहरु तुलनात्मकरुपमा गगनमा देखिन्छ । राजनीतिलाई सेवा भावले हेर्ने उनको दृष्टिकोणप्रति नयाँ या पुराना दुबैको सकारात्म बुझाइ छ । नेविसंघको सदस्य हुँदै पार्टीको महामन्त्री पदमा आइपुग्दा गगनको राजनीतिक घुम्तीहरु त्यत्तिकै संघर्षशील पनि छन् । राजनीतिमा बाबु आमाको विरासतको जगमा उदाएका नेता पनि होइनन्, गगन थापा । उनी आफ्नै बलबुताले कांग्रेस जस्तो पुरानो र ठूलो दलको महामन्त्री बन्नु पक्कै पनि सहज थिएन । त्यसका लागि उनीमा भएको प्रष्ट सुविचार, दृष्टिकोण र योजना नै हुन् । पछिल्लो समय कांग्रेसभित्र नेतृत्व पुस्तान्तरणको प्रसव पीडा छ । पूर्व पदाधिकारीहरु परिवर्तनको बहावलाई थुन्न र आफ्नो स्वार्थको रोटी सेक्न तल्लीन छन्। जनता र पार्टीबाट पनि अस्वीकृत भइसकेका सात भाइहरुका अनुहार हेरेर देउवा अनिर्णित जस्ता भएका छन् ।

यद्यपि पार्टीको विधानको धारा १७ का उपधारा २ ले गरेको व्यवस्था अनुसार गगनको अगुवामा विशेष महाधिवेशनको माग गरिएको छ। करिब ५५ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षरमा बुझाइएको मागमा पनि हलो अड्काइएको छ । जुन अप्रजातान्त्रिक शैली हो । कांग्रेस जस्तो पार्टीमा कम्युनिष्टहरु जस्तो तानाशाही र व्यक्तिकेन्द्रीत प्रवृत्ति सुहाउने विषय होइन । वीपीले जन्माएको पार्टीमा यस्तो शैली र प्रवृत्ति स्वीकार्य पनि हुँदैन । देश यतिबेला नेतृत्वविहीनको अवस्थामा छ । यस्तो जटिल परिस्थितिमा सातभाइको रोनाधोना सुनेर देउवा बस्नु पनि उनको अर्काे अक्षमता हो । पक्कै पनि पुरानाहरुमा खाइपाइ आएको गुम्ला भन्ने चिन्ता लाग्नु स्वाभाविकै हो । तर, विज्ञानको नियम छ । पुराना पात नझरी नयाँ पालुवा पलाउँदैन । यसर्थ प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रका लागि लडेका भनिएका पुराना नेताहरुको सत्ता स्वार्थबाट लोकतान्त्रिक गणतन्त्रको चक्का अब एक अंश पनि अघि बढ्नेवाला छैन ।

अझै पनि नानीदेखिको लागेका बानी दोहो¥याउने हो भने ठूलै आँधीको सामना गर्नुपर्ने हुन सक्छ । नेतातन्त्र र भ्रष्टतन्त्रकै कारण गएको भदौ २३ मा जेनजी विद्रोह भयो त्यो विद्रोहले भ्रष्टको दाग लागेकाहरुलाई २७ घण्टाभित्र सत्ताबाट लखेट्ने मात्रै गरेन। राजनीतिक नेतृत्वमा भ्याकुम पैदा गरिदियो । देश नेतृत्वविहीनको अवस्थामा पुग्यो । मुलधारका .दलका शीर्ष नेतृत्वको विकल्पमा नयाँ पुस्ताको खोजी हुन थाल्यो । जेनजी विद्रोहले धपाइएर गुण्डुृमा शरण लिन पुगेकाहरु करिब दुई हप्ता शहरबाट लखेटिएको स्याल झै भए । कसैले आफ्नै भव्य महलमा भौतिक हमलाको सामना गरे । त्यसको कारण नै अक्षमताको परिणाम थियो ।
ओली र देउवाको मिलिभगतमा अप्राकृतिक बहुमत प्राप्त सरकार थियो । दुई ठूला दलको सत्ता स्वार्थमा बनेको सरकार संगतियुक्त थिएन । तर, भ्रष्टाचारका ठूला काण्डमा चोपलिएकाहरुको रक्षा गर्नुपर्ने स्थिति आइलाग्यो । देउवा र ओली रातारात सहमत भए,सत्ता चलाउन। आलोपालो सत्ता चलाउने संसदीय गणित थियो । त्यही अंक देखाएर एमाले अध्यक्ष ओलीले बारम्बार भन्ने गर्दथे, यो सरकारलाई २१ टोपको गोलाले पनि ढाल्न सक्दैन ।

ओली अहंकार र देउवाको सत्ता लिप्साले मुलुकभित्र कुशासन , बेरोजगारी, अभाव र भ्रष्टाचारको अग्ला पर्खालहरु झनै चुलिदै थिए । लामो समयदेखिको जनताको असन्तुष्टिको ज्वालामुखी कुन बेला विस्फोट हुन्छ भन्ने थियो । सरकारको काम कारबाही र जनताको असन्तुष्टिको विस्फोटले सबैलाई खान्छ भन्ने स्वतन्त्र विचारहरु सार्वजनिक भइरहेका थिए । स्वतन्त्र विचारहरुप्रति तत्कालीन ओली सरकार क्रुद्ध मात्रै भएन । आफ्नै साइबर फौजमार्फत प्रशंसाको कारखाना चलाइरहेका थियो । ओलीलाई काँध थापेका देउवा प्रधानमन्त्रीको पर्खाइमा थिए । तर, ओली र देउवा अनि उनीका प्रशंसकहरुले प्रचार गरे जस्तो देशको अवस्था थिएन । यही वास्तविकतालाई बोध गरेर कांग्रेसका महामन्त्री गगन थापा लगायतका प्रगतिशील सोच भएका नेताहरुले सरकारलाई भनिरहेका थिए।

सरकारको काम यही ढंग र शैलीले अघि बढेमा कसैले थेग्न र रोक्न सक्ने छैन । यो उनीहरुको आँधी आउनु अघिको सन्नाटाको बेलामा दिएको सचेत खबर र संकेत थियो ।तर, ओली– देउवा सरकार प्रशंसामा रमाउथ्यो, प्रश्नसंग डराउँथ्यो । ओली देउवा सरकार रोम जलिरहेछ, निरो बाँसुरी बजाइरहेको ताल र सूरमा थियो । सरकारको जनविरोधी हर्कतलाई संसददेखि सडकसम्म सरकारलाई सचेत गराउने गगनमाथि आफ्नै पार्टीकाले सरकार विरोधी अभिव्यक्ति पनि भन्न भ्याएका थिए । तर, वास्तविकता गगनहरुले बुझिरहेका थिए । गगन आफैमा दूरदर्शी नेता थिए भन्ने कुरा त्यत्तिबेला उनले देखाएका बाटोहरुबाट पनि थाहा लाग्थ्यो । देशभित्रको बेरोजगारी, गरिबी, कुशासन र भ्रष्टाचारको न्यूनीकरण नगरी मुलुकमा भएको परिवर्तनको जनताले अनुभूति गर्नेवाला थिएनन् र हुदैन पनि ।

राजनीतिक परिवर्तन जतिसुकै युगान्तकारी भएपनि जनताको जीवन बदलिएन भने त्यसले अझ ठूलो विद्रोहको रुप लिन्छ भन्ने कुरा गगनले राम्रोसंग बुझेका थिए र बुझेका पनि छन् । लोकतन्त्रमा विश्वास गर्ने एक आशालाग्यो युवा नेतृत्व भएकाले पनि होला यतिबेला कांग्रेसभित्र मात्रै होइन, कांग्रेस बाहिरका लाखौ गैर कांग्रेसीहरु गगन र उनको विचारलाई रुचाउने गर्दछन्। जेनजी विद्रोहले ल्याइदिएको बदलावपूर्ण परिवर्तनपछि मुलुकको लागि काविल नेतृत्वको खोजी भइरहेको छ ।

ती योग्य र दक्ष नेता भनेको नै गगन थापा हुन्। यसर्थ कांग्रेसभित्रका ५५ प्रतिशत कांग्रेसी र बाहिरका लाखौ गैर कांग्रेसीहरुको भावना मात्रै होइन, मुलुको राष्ट्रिय आवस्यकतालाई बोध गरी गगन अघि बढ । यो युगले दिएको दायित्व , जिम्मेवारी र ऐतिहासिक अवसर हो । पार्टी विधान मात्रै होइन, संविधानले तोकेको योग्यता र क्षमता भएकोले गगनले आँट हिम्मत र साहसको साथ कांग्रेसको विशेष महाधिवेशनबाट आफैलाई नेतृत्वमा स्थापित गर्नुको विकल्पै छैन ।्

प्रकाशित मिति : १५ मंसिर २०८२, आइतबार  ९ : १६ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित