दुनियाँमा नायक त जति पनि बन्छन् र बनिरहेका पनि छन् । फिल्मको पर्दामा होस्,या समाजमा । यस्ता नायकहरुले चटक देखाउन सक्छन्, दुनियाँलाई भ्रममा अल्मल्याउन पनि सक्छन् । क्षणभरमै विलाउन पनि सक्छन्,उदाउन पनि सक्छन् । नायकको चटकले साउथ इण्डियन मुभीकै कथा बोक्न र पोख्न पनि सक्छ ।तर, नेतृत्व त्यस्तो निर्मम र कठोर साधनाको उपज हो । जो धरातलमै उभिएर जस्तोसृुकै कठोरतालाई चिरेर उज्यालोको बाटो खोज्न थाल्छ ।
देश र जनताको सुदूर भविष्यको लागि अल्पकालीन र दीर्घकालीन योजना बुन्छ । नेतृत्व बन्नु कदापि चानचुने विषय हुँदै होइन । यो त संघर्षको भट्टी र धर्तीको मट्टीबाट अंकुरित हुने हो । यो फिल्मी कल्पनाबाट सर्लक्कै पर्दामा उतारिए जस्तो होइन । न यो समाजको केही तप्काले दिएको उपाधिको आइडल हो । न यो निषेधको राजनीतिले कर्नरमा मिल्काइएको क्रन्दनको परिणाम हो । हो, आज नेपाली राजनीतिमा रवि लामिछाने जुन शीर्ष स्थानमा पुगेका छन् । यो इतिहासको निर्मम,कठोर संघर्ष र यातनाको परिणाम हो । भलै पार्टी निर्माणको विगतको समय अवधि थोरै होला ।तर, सत्ताले उनीमाथि गरेको ज्यादती क्रूर र प्रतिशोधी पक्कै छ ।
सामान्य लेनदेनकै मुद्दामा मुद्दामाथि ओपरथोपरी यति विघ्न तनाव र दुख दिइयो की त्यसको चोटको गहिराइ स्वयं रविलाई नै थाहा होला कि देख्ने भगवानलाई नै । आफ्नाहरुलाई समेटेर रविलाई डपेटेर जे जस्ता शक्तिको उन्मादमा हर्कत गरियो । त्यही सत्ताको ज्यादती र अत्याचारको भट्टीमा जलेर निस्किएका पात्र हुन् रवि । सञ्चार क्षेत्रको पृष्ठभूमिबाट उदाएका रविले २०७९ को निर्वाचनमा छोटै अवधिमा पार्टीलाई जब चौथो दल बनाए । तबदेखि उनी विरुद्ध अनेकन मुद्दा र झमेलाहरु लगाइए । देश बेच्ने र राष्ट्रिय अस्मिता लुटाउनेहरुले उनलाई देशद्रोही ठाने । रवि कुनै मिडियाले बोकेका पात्र होइनन् बरु,मिडियाको आवरणमा उनलाई सेक्न थुप्रै तुनाबुना र जालहरु थापिए । ती सबैखाले जालझेल र षड्यन्त्रलाई चिर्दै अघि बढीरहे ।
नागरिकता र राहदानी दोहोरो बोक्नेहरुदेखि सहकारीका करोडौ कुम्ल्याउनेहरुको विवरण गनि साध्य छैन र भनिसाध्य पनि छैन । तर, भ्रष्टाचार, जालसाँजी र छुल्याइको दोष रविमाथि लगाएर आफूहरुलाई चोखो बनाउने खेल निकै खेलियो । ती सबैखाले षडयन्त्रका अघि रवि झुकिनन् र गलिनन् पनि । भुइँमान्छेको आवाज बोकेर मिडियाबाट उदाएका उनी राजनीतिको मुलधारमा आउँदा पनि उही मुद्दामा छन् । २१ फागुनको निर्वाचनबाट रास्वपाले अत्यधिक मतले दिग्विजय भएपनि उनीमा धैर्यता र संयमता अनि जिम्मेवारी देखाए । एउटा असल नेतामा हुनुपर्ने मानक दर्शाएका उनीप्रति समर्थक मात्रै होइन, विरोधीले पनि समर्थन गरे । उनको बुधबारको अभिव्यक्ति नेपालको इतिहासमा विरलै सुनिने र देखिने परिघटना हो ।
करिब दुई तिहाइ मत लिएपछि आफूमाथि ज्यादती गर्नेहरु विरुद्ध एक शब्द पनि उनी प्रहार गरेनन् । जसले सहकारीका नाममा आधा दर्जन मुद्दा लगाएर चरम यातना र दुःख दिए उनीहरुप्रति कुनै खालको वैरभाव व्यक्त नगरी रास्पाका सांसदहरुलाई जिम्मेवार बन्न र आफू पनि जिम्मेवारीपूर्वक ढंगले देश बनाउने संकल्प गरे । उनको यो संकल्प ऐतिहासिक मात्रै रहेन एक जिम्मेवार नेताको हैसियतमा देखियो। जसले आम जनतामा अवस्था परिवर्तनको आशा थप अंकुरित भएको छ । रविको बचन र विचारलाई रास्वपा सरकारले अक्षरस कार्यान्वयन गरोस्। यो समय विशिष्ट समय हो। यतिबेला देश नबनाए कहिल्यै बन्ने छैन । यसर्थ देश बनाउन रवि र उनको पार्टीलाई प्रश्नसंगै रचनात्मक सहयोग गरौ। ००००








